- शैलपुत्र
नगरकोट :- भक्तपुर जिल्लाका चार नगरपालिकाहरूमध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो चाँगुनारायण नगरपालिकाले २०८० सालमै घोषणा गरेको महत्वाकांक्षी कार्यक्रम हो -नगरकोट भ्रमण वर्ष २०८२ । केही दिन अगाडि मात्रै नवौँ स्थापना दिवस मनाएको नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्न सहकार्य, समन्वय र प्रचार प्रसारलाई तिव्रता दिएको छ भने आर्थिक वर्ष २०८१/८२ को बजेट बिनियोजनमा नगरकोट भ्रमण वर्ष तयारीका लागि मात्र १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ ।
विक्रम सम्वत २०८२ साल वैशाख १ गतेदेखि २०८२ चैत्र मसान्तको दिनसम्म नै विविध कार्यक्रमहरू सञ्चालन गरी नगरकोट भ्रमण वर्ष २०८२ मनाइने र सो अवधिमा कम्तिमा १ लाख विदेशी पर्यटक र लाखौं आन्तरिक पर्यटकहरू नगरकोटमा भित्र्याई नगरकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य चाँगुनारायण नगरपालिकाले लिएको छ। "नगरकोट इज मोर देन सनराइज एण्ड सनसेट" अर्थात् नगरकोट सूर्योदय र सूर्यास्त देखिने ठाउँमात्र होइन । नगरकोटमा घुम्ने, रमाउने र सिक्ने कुरा धेरै छन् । यही नाराका साथ आगामी वैशाख १ गते शुभारम्भ हुन लागेको नगरकोट भ्रमण वर्षले चाँगुनारायण नगरपालिकाका नगरवासी र पर्यटन व्यवसायीहरू उत्साहित छन् ।
लामो समयदेखि सुस्त गतिमा चलिरहेको नगरकोटको पर्यटन व्यवसायले नगरकोट भ्रमण वर्षको कार्यान्वयनसँगै सुखद लय समाउने आशा र विश्वास सबैमा छ। कुनै समय राजधानी नजिकको सबैभन्दा उत्कृष्ट र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विश्वव्यापी प्रसिद्धि कमाएको नगरकोटमा केही बाह्य र केही आन्तरिक कारणले गर्दा स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमन संख्या घट्दै गयो । अहिले पनि नगरकोटको पर्यटन क्षेत्र 'जेनतेन चलिरहेको' अवस्थामा छ भन्दा अत्युक्ति नहोला। यस्तो किन हुन पुग्यो? आउनुहोस् , यसो इतिहासतिर फर्कौं।
कुनै समय देशको सङ्घीय राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर पूर्वमा रहेको रमणीय स्थल नगरकोट पर्यटकहरूको पहिलो भ्रमण गन्तव्यको रुपमा परिचित थियो। सांस्कृतिक र ऐतिहासिक सहर भक्तपुरबाट जम्मा २० किलोमिटरको दूरीमा पुगिने नगरकोटको आफ्नै क्रेज थियो। समुद्री सतहबाट २०७५ मिटर उचाइमा रहेको नगरकोटबाट सूर्योदय देखिनुका साथै धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्गा हिमशृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशंखर, ल्होत्से,मकालु र सगरमाथा हिमशिखरहरूको दृश्यावलोकन गर्न सकिने भएकोले यसको विशेष लोकप्रियता र प्रसिद्धि थियो। २०६० सालसम्म पर्यटकहरूको घुइँचो लाग्ने नगरकोटमा तत्कालीन संकटकालीन अवस्थाले गर्दा पर्यटकहरु उल्लेख्य रूपमा घट्न थाले । २०६२ साल मङ्सिर ११ गते धान्य पूर्णिमाको रात १२ जनाको ज्यान जाने गरी भएको नगरकोट हत्याकाण्डले नगरकोटको पर्यटन क्षेत्र लगभग मूर्छित अवस्थामा पुग्यो। कहाली लाग्दो र मुटु नै काम्ने हत्याकाण्ड पश्चात सुरक्षाको कारण नगरकोट आउने पर्यटकहरूको संख्या ह्वात्तै घट्न थाल्यो । केही समय पश्चात् बिस्तारै बिस्तारै उकालो चढ्न लागेको नगरकोटको पर्यटन बजारलाई आर्थिक संकट, २०७२ को भुइँचालो, कोभिड-१९ संकट जस्ता कारणहरुले नराम्ररी प्रभावित पार्दै गए। २०७० सालमा भक्तपुर नगरकोट सडकखण्ड स्तरोन्नति गर्ने निर्णय र सडक निर्माणको ठेक्का सम्झौता भएसँगै चाँगुनारायण नगरपालिकाका अधिकांश वडावासीहरूको दुर्दिन सुरु भयो। २०७३ मै सम्पन्न भइसक्नुपर्ने सडक २०८१ को मध्यसम्म पनि ठेकेदार कम्पनीले पूरा नगरेपछि अन्त्य त ठेक्का सम्झौता नै रद्द भयो र अब यो सडकलाई चाँगुनारायण नगरपालिका आफैंले बनाउने तयारी थालेको छ । ११ वर्षसम्म भत्केको सडकमा जोखिमयुक्त यात्रा गर्न बाध्य स्थानीय बासिन्दाहरूको पीडा त आफ्नो ठाउँमा छँदैछ, सडकको दुरावस्थाकै कारण नगरकोट आउने पर्यटकहरु उल्लेख्य रुपमा घट्न थाले र कतिपय पर्यटन व्यवसायीहरु विस्थापित नै हुने अवस्थामा पुगे।
अहिलेको अवस्था केही सुधारोन्मुख त छ तर सन्तुष्ट हुनेगरी नगरकोटले पर्याप्त पर्यटकहरू पाउन सकेको छैन। ५ दर्जनजति विश्वस्तरीय होटल र रिसोर्टका साथसाथै साना ठूला गरी ३०० भन्दा बढी होटल रेस्टुरेन्ट भएको र प्राकृतिक सौन्दर्यले दुलही झैँ सिँगारिएको नगरकोटलाई पर्यटकीय हब बनाउने उद्देश्यले आयोजना हुन लागेको नगरकोट भ्रमण वर्ष २०८२ चाँगुनारायण नगरपालिकाको एउटा प्रशंसनीय पहल हो।
पर्यटन प्रवर्द्धनको स्वर्णिम अवसर
नगरकोट भ्रमण वर्ष २०८२ को प्रमुख उद्देश्य नै यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु र विभिन्न कारणले सुस्ताउँदै उदाउँदै गरेको पर्यटकीय माहोललाई दीर्घकालीन रुपमै व्यवस्थित गर्नु हो। नगरकोट भ्रमण वर्ष भनिए पनि यो चाँगुनारायण नगरपालिकामा रहेका अन्य धार्मिक तथा प्राकृतिक सम्पदाहरूको प्रचारप्रसार गरी नगरपालिकामा रहेका अन्य सम्पदाहरूको पनि प्रवर्द्धन गर्नु हो। प्रचारप्रसारको सीमितताका कारण चाँगुनारायण नगरपालिकामा रहेका बागेहिटी मन्दिर ( तीनतले शिवलिङ्ग), मुहान पोखरी , रानीझुला , नगरकोट जीपलाइन, बालमिकेश्वर, मुहान पोखरी - भगेरीडाँडा पदमार्ग, शान्ति डाँडा, ज्योतिलिङ्गेश्वर, भीमेश्वर, कल्पेश्वर महादेव जस्ता आकर्षक र महत्त्वपूर्ण स्थानहरू ओझेलजस्तै छन्। विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर समेत जीर्णोद्दारको क्रममै रहेकोले अहिले सुनसानप्राय: छ। भ्रमण वर्षले यी स्थानहरूमा समेत पर्यटकहरूको आवागमन हुने र आर्थिक गतिविधि बढ्ने आँकलन गरिएको छ।
भ्रमण वर्षको तयारी
चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्न विभिन्न तयारीहरु गरिसकेको छ र गरिरहेको पनि छ । चाँगुनारायण नगरपालिकासँग जोडिएका काभ्रेको मण्डन देउपुर नगरपालिका र बनेपा नगरपालिका, काठमाडौँको शङ्खरापुर नगरपालिका र भक्तपुरकै भक्तपुर नगरपालिकाले भ्रमण वर्ष सफल बनाउन चाँगुनारायण नगरपालिकासँग सहकार्य र समन्वय गर्ने प्रतिवद्धता जनाइसकेका छन्। त्यस्तै, उपत्यका मेयर्स फोरमले पनि नगरकोट भ्रमण वर्षलाई सफल बनाउन आवश्यक सहयोग र सहकार्य गर्ने निर्णय गरिसकेको छ। नगरपालिकाका नौवटै वडाका जनप्रतिनिधि, पर्यटक उद्यमी, सहकारी संस्था र अन्य निकायका प्रतिनिधिहरू सम्मिलित भ्रमण वर्ष तयारी समिति समेत गठन भइसकेको छ। नगरपालिकाका प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई लक्षित गरी विभिन्न व्यक्ति, संघ संस्था र प्रतिनिधिहरूसँग भेटघाट र अन्तरक्रिया गरी सहकार्यका लागि आह्वान गरिरहेका छन्। सामाजिक सञ्जाल, पत्रपत्रिका तथा स्थानीय सञ्चारमाध्यमहरूमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिएको छ। नगरपालिकाका प्रतिनिधिहरु नगरपालिकाको महत्वकांक्षी कार्यक्रमलाई सफल तुल्याउन एक ढिक्का भएका देखिन्छन्। केही दिनअगाडि मात्रै काठमाडौँ महानगरपालिकासँगको समन्वयमा काठमाडौँ - नगरकोट सिधा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकारले पनि नगरकोट भ्रमण वर्ष २०८२ लाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाका ठाउँ ठाउँमा नगरकोट भ्रमण वर्षका बोर्डहरू देख्न सकिन्छ भने केही स्थानमा पक्की प्रवेशद्वारहरू निर्माण भइरहेका छन्। नगर प्रमुख खत्री र नगरपालिकाका जनप्रतिनिधिहरु नगरकोट भ्रमण वर्षलाई लिएर निकै उत्साहित देखिन्छन् ।
अवसरसँगै चुनौती पनि
नगरकोट भ्रमण वर्षले चाँगुनारायण नगरपालिका र नगरकोटलाई एक आकर्षक गन्तव्यको रुपमा चिनाउने र समग्र नगरपालिकाको पर्यटन उद्योगलाई गतिशीलता प्रदान गर्ने लक्ष्य लिएको छ। यसबाट समग्र नगरपालिका,नगरवासी र उद्यमीहरूको आर्थिक समुन्नतिका लागि एउटा दरिलो आधार निर्माण हुने प्रक्षेपण गर्न सकिन्छ। वर्षैभरि चल्ने यो अभियान एउटा स्वर्णिम अवसर त हुँदै हो तर चुनौतीका चाङ पनि उत्तिकै छन्। बागमती प्रदेशले घोषणा गरेको बागमती भ्रमण वर्ष २०२४ को अवस्था हेर्दा महत्वकांक्षा र प्रचारले मात्र कार्यक्रम र अभियान हरू सफल हुँदैनन् भन्ने देखाइसकेको छ। चाँगुनारायण नगरपालिकाको परिदृश्य भने फरक छ तर महत्त्वाकांक्षी योजना कार्यान्वयन गरी उद्देश्यमा सफल हुने बाटो भने सरल र सहज छैन।
नगरकोटलाई सुनसानप्राय: बनाउने प्रमुख कारण भक्तपुर नगरकोट सडकखण्डको त्यही १५ किलोमिटर बाटो हो, जुन अझैसम्म निर्माण सम्पन्न भइसकेको छैन । पटकपटक म्याद थप्दै ११ वर्षसम्ममा पनि ठेकेदार कम्पनीले बाटो बनाउने काम पूरा नगरेपछि केही महिना अगाडि ठेक्का सम्झौता नै खारेज गरियो। बाँकी काम नगरपालिकाले नै गर्नेगरी आवश्यक बजेट पनि विनियोजन भइसकेको छ तर सडकको दुरावस्था उस्तै छ । ठाउँ ठाउँमा खाल्डाखुल्डी र धुलोले गर्दा १५ किलोमिटरको यात्रा दिक्दारलाग्दो र जोखिमयुक्त छँदैछ। यस्तो अवस्थामा यही बाटो प्रयोग गरेर लाखौं पर्यटक नगरकोट आउने जागर चलाउँछन् भन्नु हाँस्यास्पद हुन्छ। हुन त साँखु, भत्केपाटी, नाला , ताथली जस्ता ठाउँहरुबाट पनि नगरकोट पुग्ने सडक त छन् तर साँगुरो बाटो, ठाडो उकालो ओरालो र धेरै घुम्ती भएका कारण वैकल्पिक सडकहरू प्रयोग गर्दा पनि उत्तिकै जोखिम छ । नगरकोट पुग्ने भरपर्दो र जोखिममुक्त सडक भनेको भक्तपुर-नगरकोट सडक खण्ड नै हो। भर्खरै टेन्डर आह्वान गरिएको यो सडक खण्ड तत्काल बन्ने अवस्था त छैन तर नगरपालिकाले अल्पकालीन रुपमा सडकको मर्मत सम्भार भने गर्न सक्छ ।
यो लेखमा नगरकोट भ्रमण वर्ष २०८२ लाई एक 'महत्वाकांक्षी' कार्यक्रम भनिनुमा केही कारणहरू अवश्य छन्। वर्षैभरि मनाइने भनिएको भ्रमण वर्ष केही दिनको महोत्सव, सांस्कृतिक कार्यक्रम वा खेलकुद सप्ताह जस्तो सामान्य कार्यक्रम होइन। १२ महिना, ६ मौसम र ३६५ दिन नै सञ्चालन हुने कार्यक्रमको व्यवस्थापन एक चुनौतीपूर्ण काम हो। यसको लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू दिनरात खटिनुको साथै विशेष सक्रियता देखाउनुपर्ने अवस्था आउँछ। यसबाट नगरपालिकाका अन्य प्रशासनिक कामहरु प्रभावित त हुने होइनन् भन्ने संशय पनि उत्पन्न हुन्छ। यसतर्फ नगरपालिकाको ध्यानाकर्षण भएकै हुनुपर्दछ । उपत्यका नजिकका अन्य पर्यटकीय स्थलहरूमा पाइने सेवा सुविधा नगरकोटको तुलनामा सस्ता छन् भन्ने बुझिएको छ । नगरकोटका होटल, रिसोर्ट र रेस्टुरेन्टहरु सञ्चालन गर्ने व्यवसायीहरूले यसतर्फ ध्यान दिई सस्तो र सुलभ सेवा प्रदान गर्नु आवश्यक छ । कम खर्चमै भ्रमण गर्ने उद्देश्य राखेका पर्यटकहरुलाई होमस्टे (घरवास) तर्फ आकर्षित गर्ने कार्यक्रमहरू सार्वजनिक गर्न ढिला भइसकेको छ। नगरकोट र चाँगुनारायण नगरपालिकामा सञ्चालित होमस्टे सञ्चालकहरूले पनि नगरपालिकासँग आवश्यक सहकार्य गरी सस्तो र सुलभ सेवा प्रदान गर्ने वातावरण तयार गर्नुपर्ने देखिन्छ ।
अबको काम
चाँगुनारायण नगरपालिकाको योजना भएकोले नगरकोट भ्रमण वर्षको सम्पूर्ण दायित्व नगरपालिकाको काँधमा छ। तयारीको लागि अब एक महिनाभन्दा कम समय बाँकी छ । नगरपालिका र अन्य सरोकारवालाहरुले तत्काल गर्नुपर्ने काम सुझावको रुपमा यहाँ राखिएको छ।
-भक्तपुर नगरकोट सडक खण्डको निर्माणाधीन बाटोमा तत्कालका लागि अति जोखिमयुक्त र धेरै खाल्डाखुल्डी भएको स्थानमा मर्मत संभार गरी सवारीआवागमन सहज तुल्याउने ।
-होटल व्यवसायीहरूले सामूहिक वा संस्थागत रुपमा होटल, रिसोर्ट र रेस्टुरेन्टको स्तर (वर्गीकरण) अनुसार सेवाशुल्क तोकी सार्वजनिक गर्ने ।
-नगरभित्र सञ्चालित होमस्टेहरूले सामूहिक रूपमा आफ्नो सेवाशुल्क निर्धारण गरी सार्वजनिक गर्ने ।
-स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग समन्वय गरी ठाउँ ठाउँमा प्रहरी बिट, ट्राफिक पोष्ट र चेकपोष्टहरू स्थापना गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउने ।
-आवश्यक स्थानमा सिसिटिभी तथा सडक बत्तीहरूको प्रबन्ध गर्ने ।
-स्थानीय उत्पादनहरू प्रवर्द्धन गर्न बार तोकी स्थानीय हाट बजारहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
-भ्रमण वर्ष अवधिभर दिनको समयमा नगरपालिका क्षेत्रभित्र ट्रक तथा ट्रिपरहरूको आवागमन रोक्ने ।
-भ्रमण वर्षलाई लक्षित गरी पर्यटकहरूको गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न चौबिसै घण्टा उपलब्ध हुने हटलाइन वा टोल फ्री नम्बर सञ्चालन गर्ने।
-नगरको सरसफाई र फोहोरमैला व्यवस्थापन प्रभावकारी बनाउने।
-भ्रमण वर्षको प्रचारलाई राष्ट्रिय सञ्चारका माध्यमहरूका साथै सामाजिक सञ्जालहरू मार्फत तीव्रता दिने ।
-ख्याति प्राप्त कलाकार तथा सर्जकहरूलाई भ्रमण वर्ष प्रचारको लागि आह्वान गर्ने र प्रभावकारी प्रचार गर्ने ।
अहिलेलाई यति गर्न सके नगरकोट भ्रमण वर्षको उद्देश्य र लक्ष्य पूरा हुने आधार तयार हुन्छ । यसका लागि नगरपालिका र सम्बद्द निकायहरु कत्तिको सक्रिय हुन्छन्, आगामी दिनहरुमा देखिने नै छ ।
तस्विरहरू: सामाजिक सञ्जाल
- शैलपुत्र विकास
चाँगुनारायण ७, भक्तपुर