सुक्रबार,  जेठ ३१,  २०८२


खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खलः प्रथम

नगरकोट न्युज शनि, चैत २९, २०८१ कला/साहित्य

02615

 

नगरकोट :- मध्यपुर थिमिको भुलाँखेलमा बिहिवार सम्पन्न खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खलः प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र नित्यनाथ धिमे खलःको संयोजनमा सम्पन्न प्रतियोगितामा मध्यपुर थिमि–४ को श्री राज गणेश प्रथम भएको हो । श्री राज गणेश धिमे खलः ले शिल्ड, प्रमाणपत्रका साथै नगद ५० हजार पुरस्कार प्राप्त गरेको छ।


प्रतियोगितामा सूर्यविनायक नगरपालिका–२ सिरुटारको श्री नासः धिमे खल दोस्रो हुन सफल भएको छ। श्री नासः धिमे खलःले नगद २५ हजारका साथै शिल्ड, प्रमाण पत्र प्राप्त गरेको छ । यसैगरी मध्यपुर थिमिकै सिवा सायमी खलः तेस्रो र काभ्रेपलाञ्चोकको पनौतीस्थित नेवाः देय् दबूले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । सिवा सायमी खलःले नगद १५ हजार, शिल्ड, प्रमाण प्राप्त गरेको छ भने नेवाः देय् दबूले नगद १० हजार प्राप्त गरेका छन् ।


प्रतियोगितामा विजयी खलःलाई पुरस्कृत गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले स्थानीय कला संस्कृति, बाजागाजाको संरक्षणमा विशेष जोड दिइरहेको बताउनुभयो । उहाँले यहाँको बाजाहरुमा युवा पुस्ताको आकर्षण बढाउन वर्षेनी प्रतियोगिताहरु गर्दै जाने र यस्ता प्रतियोगितामा नगरका सबै वडाहरुमा आलोपालो गर्ने योजना रहेको सुनाउनुभयो । यसैक्रममा आगामी बैशाख १३ गते वडा नं। १ लोहकिल्थलीमा बाँसुरी बाजा प्रतियोगिता हुन लागेको जानकारी गराउनुभयो ।


उहाँले नगरपालिकाले पछिल्ला वर्ष संस्कृति संरक्षण, वातावरण सरसफाई र पर्यटनको क्षेत्रमा उल्ल्ेख्य कार्य गरेको र यसैको मूल्यांकन गरी नगरपालिका संघले मध्यपुर थिमिलाई संस्कृति, पर्यटन र वातावरणमा नेपालकै उत्कृष्ट नगरपालिका घोषणा गरेर पुरस्कृत गरेको बताउनुभयो ।


उहाँले नगरपालिकाले नगरभित्रका सार्वजनिक जग्गा संरक्षण गरी बहुउपयोगी बनाउने योजना अनरुप कार्य अगाडि बढाएको बताउनुभयो । उहाँले नगरवासीलाई निःशुल्क शिक्षा, स्वास्थ्य उपलब्ध गराउने प्रमुख प्राथमिकता रहेको बताउँदैं पूर्वाधार विकासमा पनि नगरपालिकाले विशेष योजनाका साथ कार्य गरिरहेको जानकारी गराउनुभयो ।

Top