आईतबार,  जेठ १२,  २०८२


स्वस्थ्य बुढ्यौली परियोजनाअन्तर्गत चाँगुनारायणका सबै वडाहरुमा कचहरी नाटक प्रदर्शन

नगरकोट न्युज मंगल, बैशाख २३, २०८२ समाज

02685


नगरकोट :- चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाअन्तर्गत वडा नं ४  मा कचहरी नाटक प्रदर्शनी गरिएको छ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, ज्येष्ठ नागरिकको परिवारमा महत्व, परिवारका सदस्यले ज्येष्ठ नागरिक प्रति गर्नुपर्ने व्यवहार, आपसमा सहयोग र सद्रभाव दर्शाउने सन्देश सहितको कचहरी नाटक चाँगुनारायण नगरपालिकाका सबै वडमा प्रदर्शन गरिएको थियो । 


वडा नं ४ मा कचहरी नाटकको समापन गर्नुहुदै वडा अध्यक्ष रोज बहादुर तामाङ्गले ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत ज्येष्ठ नागरिकहरु विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउदै आउनुभएकोमा खुशी व्यक्त गर्नुभयो । मिलन चौतारी मार्फत ज्येष्ठ नागरिकहरुले विभिन्न्न शिपमूलक तालिम लिने अवसर पाउनु भएको कुरा पनि जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिक मिलन चौतारीमा आएर भलाकुसारी गर्ने, आपसमा खुशीका साथै मनका पिडाहरु साटासाट गर्दै ज्येष्ठ नागरिकहरुले समय विताउने गरेको बताउनुभयो । चाँगुनारायण नगरपालिकाका कार्यक्रम संयोजक दिनेश थापाले जनचेतनामूलक सन्देश सहितको कचहरी नाटकले समुदायमा ज्येष्ठ नागरिक प्रतिको सम्मान बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरबासी ज्येष्ठ नागरिकको मुहारमा खुशी ल्याउने हेतुले चाँगुनारायण नगरपालिकाले नेपाल रेडक्रससंगको साझेदारीमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजना सञ्चालन गरेको बताउनुभयो । 


कचहरी नाटकमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरबाट ऋषि खड्का, जयराम लामा, बालमुकुन्द पौडेल, सुदिमा के.सी, उषा कार्की, गौतम कार्की, चाँगुनारायण नगरपालिकाबाट सुस्मिता थापा, पारु थपा, तुलसा नेपाल, र ज्येष्ठ नागरिक मिलन चौतारीबाट खिलानाथ दुलाल, सरस्वती लामिछाने र राम प्रसाद लामिछानेले अभिनय गर्नुभएको थियो ।


नेपाल रेडक्रस सोसाइटी भक्तपुरकी संयोजक उमा थापाले स्वीस रेडक्रसको आर्थिक साझेदारीमा चाँगुनारायण नगरपालिकाका सबै वडामा गठित ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत सञ्चालित परियोजनाबाट ज्येष्ठ नागरिकको स्वास्थ्य, सुरक्षा, सम्मान र सक्रियतालाई ध्यान दिएर गतिविधिहरु सञ्चालन गरिहेको बताउनुभयो । कार्यक्रममा ४ नं वडाका वडा सदस्य विजय तामाङ्ग, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक राजु राउत, चाँगुनारायण उपशाखाका सभापति प्रशान्त पौडेल, वडा सचिव हरिगोपाल गैडा लगायत ज्येष्ठ नागरिक मिलन चौतारीका पदाधिकारी तथा सदस्यहरु, स्थानीय प्रहरीहरु, वडाका कर्मचारीहरुलगायत स्थानीय वासिन्दाको उपस्थिती रहेको थियो । 

Top