नगरकोट :- चाँगुनारायण नगरपालिकामा वन डढेलो व्यवस्थापन सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजना सामुदायिक वन उपभोक्ता महासंघ नेपाल भक्तपुर तथा स्थानीय वन उपभोक्ता महासंघ चाँगुनारायण नगर समितिको सहकार्य तथा वन डिभिजन कार्यालय खरीपाटीको प्राविधिक सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो ।
प्रशिक्षणमा चाँगुनारायण नगरपालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले प्रशिक्षणको शुभारम्भ गर्नुहुदै वन मुख्य प्राकृतिक सम्पत्ति भएकाले यसको संरक्षणमा लागिपर्ने व्यक्तिहरुसँंग प्रत्यक्ष जोडिएर कार्यक्रम गर्न पाउँदा आफुलाई खुशी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा वन संरक्षण तथा व्यवस्थापनका लागी आवश्यक कार्यक्रम प्रस्ताव गर्न सामुदायिक वनका प्रतिनिधिहरुसँंग अनुरोध समेत गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले समयमानै पुर्वतयारीमा काम गर्न सकेमा डढेलोबाट हुने ठुलो क्षतिलाई टार्न सकिने भन्दै त्यसका लागी समुदायिक वन उपभोक्ता समितिहरु मुख्य जिम्मेवार र अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले बन उपभोक्ता समितिहरुलाई सक्दो सहयोग गर्दै आएको पनि बताउनुभयो ।
प्रशिक्षणमा विपद् व्यवस्थापन, जलवायु परीवर्तन, विपद् व्यवस्थापन चक्र, वन डढेलो व्यवस्थापन, वन डढेलो नियन्त्रण गर्दा ध्यान दिनु पर्ने कुराहरु, वन डढेलोको नियन्त्रण गर्दा अपनाउनु पर्ने साबधानि तथा वन डढेलो नियन्त्रण सम्बन्धि प्रयोगात्मक अभ्यास समेत गरिएको थियो । प्रयोगात्मक अभ्यास चाँगुनारायण नगरपालिका वडा नं ४ स्थित सामुदायिक बनमा गरिएको थियो । प्रशिक्षणमा चाँगुनारायण नगर भित्रका सामुदायिक वनका ४५ जनाको सहभागितामा रहेको थियो ।
प्रशिक्षणमा वन विज्ञ सुभास देवकोटा, नगरपालिकाका विपद् विज्ञ दिनेश थापा, डिभिजन बन कार्यालय खरीपाटीकी प्रमुख प्रेमा थापा, विपद् व्यवस्थापन प्रशिक्षक राजकुमार लम्सालले सहजिकरण गर्नु भएको थियो ।