सुक्रबार,  जेठ ३१,  २०८२


चाँगुनारायणमा ‘खानेपानी व्यवस्थापनका चुनौती र समाधान’ विषयक अन्तरक्रिया सम्पन्न 

नगरकोट न्युज शनि, जेठ ११, २०८२ समाचार

02733


नगरकोट :- चाँगुनारायण नगरपालिकाले  ‘खानेपानी व्यवस्थापनका चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता शाखाको आयोजना र दियालो टेकनोलोजीको समन्वयमा शुक्रबार कार्यक्रम आयोजना गरिएको हो । 

अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख जीवन खत्रीले नगरबासीलाई खानेपानीको पहुँचमा पुर्याउने नगरपालिकाको योजनालाई साकार पार्न सबै उपभोक्ता समितिहरु पनि आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।


नगरभित्र एक सय भन्दा बढी खानेपानी उपभोक्ता समितिहरु दर्ता भए पनि आधाले पनि नवीकरण गरेको नपाइएको भन्दै नगर प्रमुख खत्रीले उपभोक्ता समितिहरुले कानूनी प्रक्रिया पूर्याएमा मात्र राज्यबाट उपलब्ध सेवा सुविधा पाइने भएकाले त्यसतर्फ सचेत हुन र जागरुक भई अगाडि बढ्न आग्रह गर्नुभयो ।


नगर प्रमुख खत्रीका अनुसार चाँगुनारायण नगर भित्र ७८ वटा मूल र ५० वटा डिप बोरिङबाट खानेपानी वितरण भइरहेको छ । नगरपालिकामा खानेपानी गुणस्तर परिक्षण मिनी प्रयोगशाला सञ्चालनमा रहेको छ ।


चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा सुरु गरिएको प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार परिक्षण गर्ने गरिएको छ । भक्तपुर जिल्लामा रहेको चार नगरपालिकाहरुमध्ये चाँगुनारायण नगरपालिका खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने पहिलो नगरपालिका हो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले खानेपानी संस्थाहरुलाई प्रविधिसँग जोडेर प्रविधिमार्फत ब्यस्थापन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातलगायत जनप्रतिनिधिहरुले पनि भनाई राख्नु भएको थियो भने विभिन्न उपभोक्ता समितिका प्रतिनिधिहरुले आ–आफ्नो जिज्ञासा राख्नु भएको थियो ।


वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले संचालन गर्नु भएको कार्यक्रममा दियालोको तर्फबाट सिईओ पिआर खनाल, बजार अधिकृत रोशन गौतमले खानेपानी संस्थाहरुमा प्रविधिको प्रयोग सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा नगरभित्रका खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनधिहरुको सहभागिता रहेको थियो ।
 

Top