नगरकोट :- भक्तपुरको ताथलीमा दशैं विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको वनमाला टोलमा ताथली गणेश जात्रा व्यवस्थापन समूहले कार्यक्रमको आयोजना गरेका हो ।
पर्वलाई रचनात्मक र सिर्जनात्मक तवरले सम्पन गर्ने सन्देशसहित भएको उक्त कार्यक्रममा मौलिक र सांस्कृतिक गीत, संगीत प्रस्तुत गरिएका थिए । वनमाला टोलस्थति ताथली गणेश मन्दिर प्राङ्गणमा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका वडा सदस्य रविन बासुकलाले कला, साहित्य, संस्कृतिको जगेर्नाका लागि जनताहरू सचेत हुनुपर्ने बताउनुभयो ।
वडा सदस्य बासुकलाले प्रगतिशील साहित्य र संस्कृतिको विकासका लागि सबैजना लाग्न जरुरी रहेको उल्लेख गर्दै शोषित पीडित जनताको हितका लागि सङ्घर्ष गर्ने भावना राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ताथली धिमय् खलस्, देवी सांस्कृतिक समूह, चित्तपोलको सिमल्टार बाजा खलस्, भक्तपुरस्थित निओ फ्युजन बाजा खलस्, ताथलीकै कार्यविनायक धिमय् खलस्का साथै विन्ज्ड सोल ब्याण्डका कलाकारलगायत युवा, महिला, बालबालिकाहरूले विभिन्न गीत, संगीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी बाजा समूहहरूलाई आयोजक समितिले प्रशंसा पत्र प्रदान गरेको थियो । कार्यक्रम संयोजक विष्णुभक्त वनमालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा धिमय् बाजा गुरु विजयराम वनमाला र सञ्चारकर्मी हरिसुन्दर छुकां लगायतले कार्यक्रमको उद्देश्यबारे चर्चा गर्नुभएको थियो ।
