आईतबार,  फाल्गुन २४,  २०८२


कक्षा ११ सञ्चालन गर्दै रोम्वस स् पहिला आउने ५० विद्यार्थीलाई विशेष छुट

नगरकोट न्युज बिही, जेठ १६, २०८२ शिक्षा

02747


नगरकोट :- अन्तर्राष्ट्रिय मानक चिह्न(आइएसओ) प्राप्त भक्तपुरको रोम्वस सेकेण्डरी स्कूलले कक्षा ११ सञ्चालन गर्ने भएको छ । भक्तपुर कमलविनायकको चोखा विनायकस्थित सो विद्यालयले शैक्षिक सत्र २०८२ देखि कक्षा सञ्चालन गर्ने भएको हो ।
चाँगुनारायण नगरपालिकाको कार्यपालिका र शिक्षा समितिको २०८१ साल चैत्र २८ गतेको निर्णयले उक्त स्कुललाई कक्षा ११ सञ्चालन गर्ने अनुमति दिएपछि यसै वर्षदेखि कक्षा सञ्चालन तयारी गरेको विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजुले बताउनुभयो। उक्त विषयमा बिहीबार पत्रकार सम्मेलन गरी विद्यालयले सो जानकारी दिएको हो ।
विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल डा. कोजुले भन्नुभयो, चाँगुनारायण नगरपालिकाको २०८१ साल चैत्र २८ गतेको कार्यपालिका र शिक्षा समितिको निर्णयानुसार हामीले प्रमाणपत्र प्राप्त गरेका हौं । जस अनुसार यस वर्षदेखि हाम्रो विद्यालयमा व्यवस्थापन, कानून र मानविकी समूहका विभिन्न विषयहरुसहित कक्षा ११ संचालन गर्ने छौं ।’
सम्मेलनमा उहाँले शैक्षिक वर्ष २०८२ देखि कार्यान्वयन हुने गरी रोम्वस सेकेण्डरी स्कूललाई भक्तपुर नगरपालिकाबाट चाँगुनारायण नगरपालिकामा स्थानान्तरण गरिएको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  ‘लामो समयको प्रयास र मिहिनेतपछि शैक्षिक वर्ष २०८२ देखि कार्यान्वयन हुने गरी हामीले रोम्वस सेकेण्डरी स्कूललाई साविक भक्तपुर नगरपालिका वडा नं. १० बाट चाँगुनारायण नगरपालिका वडा नं. ७ चोखाविनायकमा स्थानान्तरण गरेका छौं ।’
उहाँले कक्षा ११ सञ्चालनका लागि आवश्यक सम्पूर्ण भौतिक र शैक्षिक तयारी अघि बढिरहेको जानकारी दिँदै कक्षा ११ शुभारम्भको अवसरमा रोम्वसमा भर्ना हुने पहिलो ५० जना विद्यार्थीलाई सम्पूर्ण शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा समेत गर्नुभयो । यसका साथै विभिन्न संघ–संस्था, विद्यालय र स्थानीय तहबाट सिफारिस भई आएका विद्यार्थीलाई समेत छात्रवृत्ति दिइने उहाँको भनाइ छ ।
प्रिन्सिपल डा. कोजुले भक्तपुरबाट हरेक वर्ष ६ हजार विद्यार्थी कक्षा १० उत्तीर्ण हुने र उनीहरु कक्षा ११ अध्ययनका लागि भक्तपुर छोडेर जाने बाध्यतालाई न्युनीकरण गर्न पनि विद्यालयले कक्षा ११ सञ्चालन गर्ने बताउनुभयो । उहाँले कक्षा ११ संचालनसँगै सीप र प्रविधि सहितका प्रतिस्पर्धी विद्यार्थी तयार पार्न विभिन्न शैक्षिक र अतिरिक्त कृयाकलाप गरि भक्तपुरबाटै अन्र्तराष्ट्रिय स्तरको शिक्षा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘हामी विभिन्न देशका विद्यालय र विश्वविद्यालयसँग भगिनी सम्बन्ध कायम गर्दै विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक समुदायसँग जोड्ने काम गरिरहेका छौं । रोम्वस गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध छ ।’
विद्यालयले ११ वर्षको दौरानमा आफ्नै भवन, आफ्नै खेलकुद ग्राउण्ड र आफ्नै पूर्वाधार बनाई सकेको उल्लेख गर्दै प्रिन्सिपल डा. कोजुले ‘सपना, संघर्ष र सफलताको सूत्र ः शैक्षिक समृद्धिको यात्राले नै मात्र’ भन्ने नाराका साथ रोम्वसलाई सामान्य विद्यालयका रुपमा मात्र नभई प्रतिष्ठानका रुपमा विकास गर्ने लक्ष्य अनुरुप अघि बढिरहेको बताबताउनुभयो ।
रोम्वस सेकेण्डरी स्कूल विगत ११ वर्षदेखि भक्तपुरको शैक्षिक उन्नयनका लागि निरन्तर कृयाशील छ । वि.सं.२०७० साल फागुन ७ गते विधिवत नामकरण गरी शैक्षिक वर्ष २०७१  देखि कक्षा संचालन गर्न थालेको यस विद्यालयमा ४७ जिल्लाका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । नर्सरीदेखि कक्षा १० सम्म कूल ७०६ जना विद्यार्थीहरु रोम्वस सेकेण्डरी स्कूलमा अध्ययनरत छन् ।

Top