सोमबार,  जेठ ११,  २०८३


न्यूनतम् सेवा मापदण्डमा भक्तपुर अस्पताल उत्कृष्ट घोषित

नगरकोट न्युज शुक्र, जेठ ८, २०८३ समाचार

03339


नगरकोट :- भक्तपुर अस्पताल न्यूनतम् सेवा मापदण्डमा देशभरिका अस्पतालमध्येबाट उत्कृष्ट घोषित भएको छ । ‘सेकेण्डरी बी’ तहबाट ‘सेकेण्डरी ए’ तहका अस्पतालहरुको न्यूनतम् सेवा मापदण्डमा देशभरिका ‘बी’ तहका १०० देखि ३०० शय्यासम्मका अस्पतालहरूमध्ये भक्तपुर अस्पताल देशभरिकै उत्कृष्ट घोषित भएको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिनुभयो । 

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा गत जेठ ५ र ६ गते विज्ञहरूसहित गरिएको न्यूनतम् सेवा मापदण्ड ९एमएमएस० मुल्याङ्कनको नतिजा आज सार्वजनिक गरिएको हो । मूल्याङ्कन समितिले भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा सो नतिजा सार्वजनिक गर्दै उक्त मूल्याङ्कनमा ९३ प्रतिशत अङ्क प्राप्त गरी भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट अस्पताल घोषणा गरेको हो । 

गतवर्ष पनि उक्त अस्पतालले ९० अङ्क ल्याएर देशभरिकै उत्कृष्ट भएकामा यसवर्ष ३ अङ्क सुधार गर्दै उत्कृष्टतामा निरन्तरता दिएको हो ।

आज अस्पतालमा आयोजित न्यूनतम सेवा मापदण्ड तथा क्लिनिकल लेखापरीक्षणको समीक्षामा स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा नरेन्द्रकुमार झाले अस्पतालका कर्मचारीहरूको लगनशीलता र मेहनतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई विशिष्टीकृत गर्दै लैजाने बताउँदै अस्पतालमा न्युरो सर्जरीका लागि स्तरोन्नति गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले  अस्पतालमा अझै सेवा र सुविधा थप गर्ने प्रतिबद्धता जनाउनुभयो ।रासस

Top