शनिबार,  माघ ४,  २०८२


तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन चाँगुनारायणमा सम्पन्न

नगरकोट न्युज शुक्र, मंसिर २७, २०८२ समाचार


नगरकोट :- चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा “तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन” सम्पन्न भएको छ।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७औँ राष्ट्रिय मानव अधिकार महोत्सवका अवसरमा आयोजना गरिएको सम्मेलन राष्ट्रिय जनवकालत मञ्च नेपाल तथा स्वच्छ हावा सञ्जाल चाँगुनारायणको सहकार्यमा सञ्चालन गरिएको हो।


सम्मेलनको उद्घाटन काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले गर्नुभएको थियो । महर्जनले ललितपुरले हरियाली प्रवद्र्धन, वातावरण संरक्षण र स्वच्छ हावाका लागि महत्त्वपूर्ण कदम चालेको जानकारी गराउँदै नियम कार्यान्वयनमा महानगर कडाइका साथ अघि बढिरहेको बताउनुभयो। “वायू प्रदूषण रोक्न धेरै कठोर निर्णय लिनुपरेको छ,” मेयर महर्जनले भन्नुभयो, “स्वच्छ वातावरण सबै नागरिकको अधिकार हो।”


उद्घाटन सत्रमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले अध्यक्षता गर्दै वातावरणीय अधिकार संरक्षणमा स्थानीय तहको भूमिका अझ सुदृढ बन्दै गएको बताउनुभयो।


उहाँले चाँगुनारायण नगरपालिका ७५३ स्थानीय तहमध्ये वायू गुणस्तर कार्ययोजना तयार गर्ने पहिलो नगरपालिका रहेको जानकारी दिनुभयो। नगरभित्रका ईटाभट्टा घट्दै गएको, बाँकीले वातावरणमैत्री प्रविधि अपनाउन थालेको र वायू प्रदूषण न्यूनिकरणका थुप्रै कार्यहरू प्रभावकारी रूपमा भइरहेको उहाँको भनाइ थियो।


राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले विकास र पूर्वाधार निर्माणका सबै प्रक्रियामा वातावरणीय मानवअधिकारलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो। “वातावरणलाई ध्यान दिएर हुने विकास मात्र दिगो विकास हो,” सचिव खरेलले भन्नुभयो। उहाँले उद्योगदेखि स्थानीय तहसम्मका परियोजनाले स्पष्ट प्रभाव मूल्यांकन गरी मानव स्वास्थ्य र प्राकृतिक स्रोतमा पर्ने असर न्यून गर्न दुवै क्षेत्र जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो।

मानवअधिकारकर्मी चरण प्रसाईले विधि र कानुनभन्दा व्यक्तिको प्रभाव हावी हुँदा समस्या बढेको बताउनुभयो। सार्वजनिक निर्णय प्रक्रियामा पारदर्शिता अभाव र हस्तक्षेपले शासन प्रणाली कमजोर भएको उहाँको मूल्यांकन थियो। 


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले सम्मेलनका उद्देश्य र कार्ययोजना प्रस्तुत गर्नुभयो भने सूचना प्रविधि अधिकृत रोशन शिवाकोटीले चाँगुनारायण नगरपालिकाको परिचय तथा गतिविधिसम्बन्धी भिडियो प्रस्तुत गर्नुभयो।


स्वच्छ हावा सञ्जाल चाँगुनारायणका अध्यक्ष रविता कार्कीले नगरभित्र विषादी प्रयोग, ईटाभट्टा लगायतका स्रोतबाट प्रदूषण भइरहेकामा ध्यानाकर्षण गराउनुभयो। कार्यक्रम सञ्चालन चाँगुनारायण खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा प्रमुख सुरेन्द्र लामिछानेले गर्नुभयो।


सम्मेलनको मूल एजेन्डाबारे नाफानका सल्लाहकार भोला भट्टाराईले विस्तृत प्रस्तुति राख्नुभयो। विभिन्न सत्रहरूमा वातावरण विज्ञ भूषण तुलाधरले वायु प्रदूषण र यसको प्रभावबारे, किरण बरामले वातावरण रक्षक तथा उनीहरूको भूमिकाबारे प्रस्तुति दिनुभयो। सहभागी विज्ञहरूले स्थानीय सरकार र समुदायको भूमिका, वातावरणीय अधिकार संरक्षण, वायु प्रदूषण र जलवायु संकटका चुनौतीबारे धारणा राख्नुभयो।


कार्यक्रमले वातावरणीय अधिकारका सवालमा स्थानीय तहको नेतृत्वलाई अझ संगठित बनाउँदै आगामी चौथो सम्मेलन ललितपुर महानगरमा आयोजना गर्ने निर्णय गर्दै समापन गरिएको छ। सम्मेलनमा उपत्यकाभरिका पालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Top