बुधबार,  फाल्गुन २०,  २०८२


शुक्रबार र शनिबार गण्डकी प्रदेशदेखि पश्चिमसम्म मध्यम वर्षाको सम्भावना

नगरकोट न्युज बिही, माघ ९, २०८२ समाचार

03204


नगरकोट :- शुक्रबार र शनिबार गण्डकी प्रदेशदेखि पश्चिमसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार मुख्यतः सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसोपछि मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा हुनुका साथै हिमपातको पनि सम्भावना रहेको मौसमविद् ढकालले बताउनुभयो । बागमती प्रदेशका एक–दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना भए पनि ठूलो पानी भने नपर्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा भने वर्षाको खासै सम्भावना छैन । यद्यपि, पश्चिमी क्षेत्रमा हुने वर्षाका कारण वायु प्रदूषण र तराई क्षेत्रमा लामो समयदेखि लागेको हुस्सुबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

महाशाखाका अनुसार वर्षापछि तापक्रम पनि क्रमिक रूपमा बढ्दै जाने अनुमान छ । पर्सि शनिबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ, हिजो काठमाण्डौको न्युनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको महाशाखाले जनाएको छ । 

Top