सोमबार,  मंसिर २,  २०८२


भक्तपुरमा नापतौल डोर सेवा जारी

नगरकोट न्युज शनि, कार्तिक ३०, २०८२ समाचार

03179


नगरकोट :- मध्यपुर थिमी नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत दोस्रो दिन शुक्रबार मध्यपुर थिमी नगरपालिकास्थित नयाँठिमीको यचु पार्टी प्यालेसमा कार्यालय राखेर सेवा प्रदान गरिएको छ । 


गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले कौशलटारस्थित मध्यपुर थिमी नगरपालिकाको ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर बिहीबारदेखि डोर कार्यक्रम सुरु गरेको थियो । जिल्लाका उद्योगी, व्यवसायी एवं व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको टोलीका प्रमुख पवन चन्दले बताउनुभयो । 


संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने जानकारी दिनुभयो । 


आफ्नै घरआँगनमा आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा स्थानीय खुसी भएको संघका महासचिव नविन प्रजापतिले बताउनुभयो । गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि काठमाडौं पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उहाँको भनाइ छ । डोर कार्यक्रममा स्थानीय व्यवसायी, व्यापारीहरुले उत्साहपूर्वक आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गराएको उनले जानकारी दिनुभयो । 


संघका कोषाध्यक्ष एवं बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालका अनुसार ३० गते आइतबार मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमी परिसरमा डोर कार्यालय रहने छ । यसैगरी, भक्तपुर नगरपालिकासँग सहकार्य गरी मंसिर १ गते सोमबार टुरिजम मार्केट परिसर, २ गते मंगलबार कमलविनायक बिगमार्ट परिसर, ३ गते बुधबार खौमा दरबार स्क्वायर गेटसँगै र ४ गते बिहीबार इनाचो पाटीमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने उनले जानकारी दिनुभयो ।  

Nagarkot Visit year

ताजा अपडेट


Changunarayan
Top