नगरकोट :- चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीको आयोजनामा परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। स्थानीय मौलिक संस्कृति, परम्परागत बाँसुरी बाजा तथा सांगीतिक सम्पदाको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उपत्यकाका विभिन्न क्षेत्रबाट आएका १३ टोलीका ३०० भन्दा बढी कलाकारहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा भक्तपुर, काठमाडौं, चन्द्रागिरि, गोकर्णेश्वर, बालाजु, सूर्यविनायक लगायत क्षेत्रका बाँसुरी बाजा टोलीहरूले आफ्नो कला, सीप र सांगीतिक परम्पराको उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतियोगितामा बालाजुस्थित देवीस्थान बाँसुरी खल प्रथम भएको छ । प्रथम हुने टोलीले नगद रु. २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो।
त्यसैगरी चन्द्रागिरिस्थित झिगु नेवा बाँसुरी खल द्वितीय हुँदै नगद रु. २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। ताथलीस्थित खगां दाफा भजन खल तृतीय हुँदै नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्रबाट सम्मानित भयो। सरस्वती खेलस्थित ससु माजु बाँसुरी खल ले सान्त्वना स्थान हासिल गर्दै नगद रु. ५ हजार र प्रमाणपत्र प्राप्त गर्यो।
यसैगरी अन्तिम चरणसम्म पुगेर निर्णायकहरूको छनोटमा पर्न सफल काठमाडौंको न्यूरोडस्थित पाको पुखध्या मानन्धर खललाई प्रोत्साहनस्वरूप नगद रु. २ हजार ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातको सभापतित्वमा भएको कार्यक्रममा वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँ, चाँगुनारायण नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्यामकृष्ण नायजु, चाँगुनारायण नगरपालिकाका पर्यटन शाखा प्रमुख गोकुल कार्की, सामाजिक विकास शाखाकी निलाकुमारी घिमिरे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था, सहकारीलगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताको संयोजन रविन बासुकलाले गर्नुभएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा शेषनारायण महर्जन, इन्दिरा लाछ्यासु र राजकुमार मानन्धर रहनुभएको थियो कार्यक्रमको सञ्चालन हरिसुन्दर छुकांले गर्नुभएको थियो ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ताथली धिमय् खल तथा खलःका वरिष्ठ धिमय्, भुछ्या र सिछ्यावादकहरूलाई विशेष सम्मान गरिएको थियो। वर्षौँदेखि स्थानीय सांगीतिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि योगदान पुर्याउँदै आएका वादकहरूको सम्मानले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले बाँसुरी बाजा केवल मनोरञ्जनको माध्यम मात्र नभई नेवार समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र ऐतिहासिक सम्पदासँग जोडिएको महत्वपूर्ण परम्परा भएको उल्लेख गर्नुभयो। उहाँहरूले यस्ता प्रतियोगिताले लोपोन्मुख बन्दै गएका परम्परागत बाजा संस्कृतिप्रति युवापुस्ताको आकर्षण बढाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
ताथली क्षेत्रलाई लामो समयदेखि बाँसुरी बाजाको महत्वपूर्ण केन्द्रका रूपमा चिनिँदै आएको छ। यस्ता सांस्कृतिक गतिविधिले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै समुदायबीच आपसी सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।