सोमबार,  भदौ ८,  २०८३


सिपाडोलका ८०० भन्दा बढी महिलाहरूको सूर्यविनायकको शिव सर्किट भ्रमण 

नगरकोट न्युज आईत, सावन २४, २०८३ समाचार

03403


नगरकोट :-  शनिवार एकै दिन सूर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कार्यालयको आयोजनामा सिपाडोलका ८०० भन्दा बढी महिलाहरूले एकै साथ सूर्यविनायकको शिव सर्किटको भ्रमण गरी शिवालयहरुको पुजा एवं दर्शन गर्नु भएको छ ।


सूर्यविनायकको शिव सर्किटको प्रचार प्रसार एवं साउन महिनाका अवसरमा शिवालयहरुको धार्मिक परिक्रमा गराउने उदेश्यले शिव सर्किट भ्रमण एवं धार्मिक यात्रा कार्यक्रम आयोजना गरिएको वडा नं. ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।


वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “सूर्यविनायक नगरपालिकाले सूर्यविनायक गणेश मन्दिर सहित वडा नं. १ देखि १० सम्म रहेका १५ वटा शिवालयलाई समेटेर धार्मिक पर्यटनको विकास गर्ने र सूर्यविनायकलाई धार्मिक पर्यटनको केन्द्रबिन्दू बनाउने उदेश्यले निर्माण गरेकोे ‘सूर्यविनायक शिव सर्किट’ लाई जनस्तरसम्म थप प्रभावकारी रूपमा पु¥याउने उदेश्य राखेका थियौै, साउन महिनाको अवसरमा महिलाहरुलाई शिवालयको दर्शन एवं परिक्रमा गराउने उदेश्यले सूर्यविनायक नगरपालिका–८ ले महिलाहरूका लागि ‘सूर्यविनायक शिव सर्किट परिक्रमा’ आयोजना गरेका हौ।”


शनिवार बिहान ६.३० बजेदेखि सिपाडोकाल बिभिन्न टोलबाट रिजर्भ गरिएका २४ वटा बसमा भरिएका करिब ८०० महिलाहरुलाई लिएर सूर्यविनायक चोकबाट निस्किएको यात्रा वडा नं. २ बालकोटको धर्मेश्वर मन्दिरबाट सुरु भई डालेश्व्रमा पुगेर समापन भएको थियो ।


यात्राको क्रममा बालकोटको धर्मेश्वर महादेव मन्दिरबाट सुरु भएको शिव सर्किटको धार्मिक यात्रा बालकोट र सिरुटारको संगममा रहेको गुप्तेश्वर महादेव, सिरुटारको सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, दधिकोटको अनन्तलिङ्गेश्वर महादेव, पाथीभरा मन्दिर, गुण्डुको मत्स्यश्वर महादेव, रामभक्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको आशापुरी महादेव, चित्तपोलको कैलाशनाथ महादेव, नटरम्बेश्वर महादेव, महाकांलेश्वर महादेव, नंखेलको नन्दिकेश्वर महादेव हुदै साँझ सिपाडोलको प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको दर्शन एवं सन्ध्या आरतीमा सहभागि गराई यात्रा समापन गरिएको वडा अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

Top