आईतबार,  चैत २२,  २०८२


मध्यपुर थिमि नगरपालिकाद्धारा सहकारी पिडितको वचत फिर्ता शुरु

नगरकोट न्युज शनि, चैत २१, २०८२ समाचार

03276


नगरकोट :- मध्यपुर थिमि नगरपालिकाले सहकारी पिडितको वचत फिर्ता गर्न शुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकाले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रवार आयोजित सभामा समस्याग्रस्त सहकारी कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका वचतकर्तालाई जनही १०/१० हजार रुपैंया वितरण गर्दै वचत फिर्ताको शुरु गरेको हो ।
नगरपालिकाले मध्यपुर थिमि नगरपालिका स्थापना हुँदाको तत्कालिन दिव्यश्वरी, बालकुमारी, चपाचो, नगदेश र बोदे गाविसको प्रतिनिधित्व हुने गरी ५ जनालाई जनही १०/१० हजार वचत फिर्ता गरेको हो ।
मध्यपुर थिमि–३ गठ्ठाघरमा सञ्चालित उक्त सहकारीले वचतकर्ताको रकम फिर्ता नगरी सञ्चालक फरार भएका थिए । उक्त सहकारीलाई नगरपालिकाको सहकारी ऐन २०७९ तथा नियमावली २०८० बमोजिम समस्याग्रस्त घोषणा गरी सहकारीको व्यवस्थापन शुरु गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाले २०८१ जेठ १७ गते कृषि विकास वचत तथा ऋण सहकारी प्रा। लि।लाई समस्याग्रस्त घोषणा गरेको हो । त्यसपछि २०८२ जेठ २८ गते नगरपालिकाले पूर्व न्यायधिसको अध्यक्षतामा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो ।
उक्त समितिले सहकारीका वचतकर्तालाई वचत रकम दावी गर्न आउन र सहकारीका ऋणीहरुलाई ऋण रकम चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सोही अनुसार वचत दावी गर्न आएका वचतकर्ताहरुलाई रकम फिर्ता गर्ने कार्य शुरु गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
समितिमा हाल ५४९ जना वचतकर्ताहरुले वचत रकम दावी गर्दै निवेदन पेश गरेको छ । ती मध्ये पहिलो चरणमा समितिमा चेक जम्मा गरेका २५२ वचतकर्ताहरुलाई जनही १०÷१० हजार रुपैंया फिर्ता गर्ने जानकारी नगरप्रमुख श्रेष्ठले दिनुभयो । 
उहाँका अनुसार उक्त सहकारीको ऋणीहरुबाट ऋण असुलीको पनि कार्य भइरहेको छ । समितिले हालसम्म ४२ लाख रुपैंया ऋण असुली गरिसकेको छ । सोही रकमबाट वचत फिर्ताको शुभारम्भ गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । 
नगरपालिकाको सहकारी शाखाका अनुसार कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताबाट हालसम्म २२ करोड भन्दा बढी रकमको दावी परेको छ भने संस्थाले २४ करोड रुपैंया ऋण लगानी गरेको देखिन्छ । 

Top