नगरकोट :- जनताका चासो, गुनासा र सुझावलाई प्रत्यक्ष रूपमा सुन्दै विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सूर्यविनायक नगरपालिका वडा नं. ९ मा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीबीच खुला संवाद भएको थियो। कार्यक्रममा वडा कार्यालयबाट हालसम्म भएका विकास निर्माणका कार्य, सार्वजनिक सेवा प्रवाह तथा आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।
कार्यक्रममा वडा सचिव अच्युतम खत्री ले वडाबाट प्रदान गरिँदै आएका प्रशासनिक सेवाहरू, राजस्व संकलन र सेवा प्रवाहका विषयमा जानकारी गराउँदै चालु आर्थिक वर्षमा वडा कार्यालयबाट रु। ८३ लाख ९० हजार ३०४ राजस्व संकलन भएको बताउनुभयो। जनतामैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै तीनै तहका सरकारको समन्वयमा नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित काम भइरहेको उनले उल्लेख गरे।
सार्वजनिक सुनुवाईमा स्थानीयवासीहरूले खानेपानी व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा बजेट वृद्धि, सामाजिक सद्भाव, कृषि क्षेत्रको विकास, सार्वजनिक खरिद ऐनको पालना, सडक निर्माण तथा मर्मत, सामुदायिक विद्यालयको सुदृढीकरण, विद्यालय मर्ज प्रक्रिया, बौद्धिक तथा सामाजिक विकासलगायतका विषयमा प्रश्न, गुनासा र सुझाव राखेका थिए।
उठाइएका विषयहरूको जवाफ दिँदै वडा अध्यक्ष भगवान खत्री ले वडा नं. ९ को भौगोलिक विविधता र सीमित स्रोत–साधनका बाबजुद नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै चुनौतीहरू रहे पनि स्थानीयवासीको सहयोग र सहभागिताले विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सफल भएको उनको भनाइ थियो।
वडा अध्यक्ष खत्रीले तीनै तहका सरकारको सहकार्यमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा धार्मिक–सांस्कृतिक पूर्वाधार निर्माणका कामहरू भइरहेको जानकारी दिए। सूर्यविनायक नगरपालिकाको दुर्गम क्षेत्र मानिने काँक्रावारी–रातोमाटे सडक हाल करिब ३० करोड रुपैयाँको क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको उल्लेख गर्दै केही अन्य सडक योजनाहरू बजेट कटौतीका कारण प्रभावित भए पनि वैकल्पिक उपायमार्फत काम अघि बढाउने प्रयास भइरहेको बताए।
उनले काँक्रावारीस्थित सरस्वती माध्यमिक विद्यालयमा सवारी व्यवस्थापन गरिएको, पलासे–डोलेश्वर पर्यटकीय सडक बजेट अभावका कारण प्रभावित भए पनि निर्माणलाई निरन्तरता दिन पहल भइरहेको जानकारी दिए। “विकास व्यक्ति केन्द्रित होइन, समुदाय केन्द्रित हुनुपर्छ,” भन्दै उनले विकासका योजनामा सबैको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे।
शिक्षा क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै वडा अध्यक्ष खत्रीले भुवनेश्वर माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विस्तारका लागि दुई रोपनी चार आना जग्गा व्यवस्थापन गरिएको र सो क्षेत्रमा आवश्यक भवन निर्माण गरिने प्रतिबद्धता जनाए। साथै शान्ति भैरव विद्यालयमा बालबालिकाका लागि रंगमञ्च निर्माण भइरहेको तथा नगरस्तरीय खेलमैदान निर्माण प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए।
एनएमसीका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक पुष्करराज बुढाथोकी ले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा वडा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाईले स्थानीय सरकार र नागरिकबीचको संवादलाई थप सुदृढ बनाउँदै विकास निर्माण तथा सेवा प्रवाहलाई जनअपेक्षाअनुसार अगाडि बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ।