नगरकोट :- भक्तपुरको सूर्यविनायक नगरपालिका–८, पाटीभञ्ज्याङमा ‘आशापुरी तामाङ सामुदायिक होमस्टे’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । स्थानीय पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा तामाङ समुदायको मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ होमस्टेको शुभारम्भ गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले होमस्टेले स्थानीय स्तरमै रोजगारी सिर्जना गरी आर्थिक समृद्धिको आधार निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले होमस्टे स्थापना गर्नु मात्र ठूलो उपलब्धि नभई त्यसलाई निरन्तर सञ्चालन गर्दै गुणस्तरीय सेवा दिनु अझ महत्वपूर्ण रहेको बतउनुभयो ।
उहाँले स्थानीय युवालाई सीप र सिर्जनासँग जोड्दै वैदेशिक रोजगारीको बाध्यता कम गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । स्थानीय उत्पादन, संस्कृति र आतिथ्यलाई पर्यटनसँग जोड्न सके आर्थिक विकासले गति लिने उहाँको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष अजय बाबु तामाङले होमस्टे स्थापना गर्नुपूर्व गरिएको लामो तयारी, स्थानीयको सहकार्य र समुदायको साझा प्रयासबारे जानकारी गराउँदै आशापुरी तामाङ सामुदायिक होमस्टेलाई भविष्यमा देशकै नमुना होमस्टेका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले पाटीभञ्ज्याङलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडा कार्यालयको लगानीमा करिब दुई लाख रुपैयाँ बराबरका २७ सेट सामग्री होमस्टेलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका सामग्रीमा डम्फु, मादल, खैजडी, झ्याली लगायत सांस्कृतिक सामग्री समावेश छन् । यी सामग्रीले तामाङ समुदायको मौलिक सांस्कृतिक पहिचान संरक्षण र पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
होमस्टेका सदस्य विकासकुमार तामाङका अनुसार हाल होमस्टेमा २७ वटा घर आबद्ध छन्, जहाँ एकैपटक करिब १५० जना पाहुनालाई आतिथ्य प्रदान गर्न सकिने क्षमता रहेको छ । भक्तपुरको डोलेश्वर र आशापुरी मन्दिरको बिचमा रहेको नैचालमा यो होमस्टे संचालनमा आएको हो ।
कार्यक्रममा होमस्टे महासंघका कोषाध्यक्ष सुरज बस्नेत, पूर्व अध्यक्ष केशव बराल, राजकुमार लामिछाने, वडा सदस्य विक्रम तामाङ, सावित्री मिश्र, अञ्जना नेपाली लगायतले होमस्टेले ग्रामीण पर्यटन विस्तार, स्थानीय आयआर्जन र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
होमस्टेका कोषाध्यक्ष रिन्जिन तामाङले तामाङ समुदायले विगतमा भोग्नुपरेका विभिन्न कठिनाइको स्मरण गर्दै अब होमस्टे सञ्चालनसँगै समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने आशा व्यक्त गराउनुभयो ।
आयोजकका अनुसार तामाङ समुदाय आफ्नो सरलता, इमान्दारिता र आत्मीय आतिथ्यका लागि परिचित भएकाले यहाँ आउने पाहुनाले विशिष्ट ग्रामीण जीवन, मौलिक संस्कृति र आत्मीय स्वागतको अनुभव गर्नेछन् । औपचारिक रूपमा सञ्चालनमा आएको आशापुरी तामाङ सामुदायिक होमस्टेले स्थानीय पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धि र सांस्कृतिक संरक्षणमा नयाँ अध्याय सुरु गरेको विश्वास गरिएको छ ।