नगरकोट :- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ छ्याङ्गदीस्थित जंगलमा ११ वर्षीया बालिका निशा तामाङको बलात्कार पछि हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन् । २१ बर्षिय निमा बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रहरी प्रमुख रामेश्वर कार्कीले बताउनुभयो। घटनामा संलग्न पाँच जना युवकलाई प्रहरीले शुक्रबार पक्राउ गरी पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
गाँजा र रक्सीको नशामा उनीहरुले बलात्कार गरी हत्या गरेर बालिकाको शवलार्ई एकान्त जंगलको भिरमा लगेर मिल्काएका थिए । बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ । बालिका असार १० गते राति हराएको र भोलिपल्ट बिहान ९ः३० बजे उनको शव जंगलको खोल्सामा फेला परेको थियो । च्याउ टिप्न जंगल गएका स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
बालिकालाई उनको घरबाट करिब ४ सय मिटर परको बारीमा बोलाएर पाँचै जनाले सामुहिक रुपमा बलात्कार गरि हत्या गरेको प्रहरी वयानमा बताएका छन् । रुखमा शव अड्किएपछि टाउकोमा ढुङ्गाले हानेको अवस्थामा उनको शब फेला परेको थियो । अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले अभियुक्तहरूका घर खानतलासी गर्दा अपराधसँग सम्बन्धित सामग्रीहरू बरामद गरेको छ । बालिकाको शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ भने थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ । उनीहरूलाई म्याद थप गरेर जबरजस्ती करणी र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
बालिकाका बाबुआमा वैदेशिक रोजगारीका लागि इराक बस्दै आएका छन् । बालिका आफ्नै दिदी र घरज्वाइँ बसेका भिनाजुसँग बस्दै आएकी थिईन् ।
