नगरकोट :- भक्तपुर जिल्ला पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका चारै स्थानीय तहमा लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै आवश्यक खोप प्राप्त गरेको पुष्टि भएपछि आइतबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।
भक्तपुर यसअघि २०७५ सालमा पहिलो पटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको थियो । त्यसयता नियमित अनुगमन, दिगोपनाका सूचक तथा सेवा निरन्तरताको मूल्याङ्कनका आधारमा जिल्लाले आफ्नो उपलब्धिलाई कायम राख्दै आएको छ । यस वर्ष पनि चारै नगरपालिकाले तोकिएका सबै मापदण्ड पूरा गरेपछि पुनः औपचारिक घोषणा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री किरण थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताउनुभयो । उहाँले अब प्रदेश सरकारले उपचारभन्दा रोग लाग्नै नदिने नीतिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगको प्रारम्भिक पहिचानका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको टोली घरदैलोमै परिचालन गरिनेछ । यसबाट समुदायमै पुगेर रोगको प्रारम्भिक परीक्षण, परामर्श र आवश्यक स्वास्थ्य सेवा प्रदान गरिने उहाँको भनाइ थियो ।
मन्त्री थापाले भक्तपुरलाई बागमती प्रदेशको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार पूर्वाधार र विशेषज्ञ सेवा विस्तार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुर अस्पतालमा विशेषज्ञ सेवा सुरु भइसकेको छ भने मुटुरोग (कार्डियोलोजी) सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको छ । त्यसैगरी ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उपकरण सञ्चालनमा आएपछि बिरामीले एमआरआई परीक्षणका लागि अन्य जिल्लामा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
उहाँले सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न पनि बजेट छुट्याइएको जानकारी दिँदै प्रदेशका अस्पतालहरूलाई क्रमशः विशेषज्ञ सेवा दिने संस्थाका रूपमा रूपान्तरण गरिँदै गएको उल्लेख गर्नुभयो ।
मन्त्री थापाले स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न प्रदेश सरकारले योग, ध्यान तथा रोग रोकथामसम्बन्धी अभियानलाई पनि व्यवस्थित रूपमा सञ्चालन गरिरहेको बताउँदै उपचारभन्दा रोकथाम प्रभावकारी र कम खर्चिलो हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयकी सचिव दुवै भक्तपुरसँग जोडिएकाले जिल्लालाई स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्र बनाउने कामले गति लिएको बताउनुभयो । उहाँले भक्तपुर अस्पतालले मुलुकभरकै उत्कृष्ट अस्पतालमध्ये एकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणा उपलब्धि भए पनि त्यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको बताउनुभयो । उहाँले खोप पाउने उमेर पुगेका कुनै पनि बालबालिका छुट्न नहुनेमा जोड दिँदै नियमित खोप कार्यक्रम प्रभावकारी बन्दा बाल मृत्युदरमा उल्लेखनीय कमी आएको र हालसम्मको तथ्याङ्कअनुसार हरेक वर्ष बाल मृत्युदर करिब ८० प्रतिशतले घटेको जानकारी दिनुभयो ।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काका अनुसार जिल्लामा ० देखि १६ महिनासम्मका ५ हजार ५० बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । तीमध्ये भक्तपुर नगरपालिकामा ८ सय ८, मध्यपुर थिमीमा १ हजार ३ सय ७८, सूर्यविनायकमा १ हजार ७ सय ५० र चाँगुनारायणमा १ हजार १ सय १४ जना रहेका छन् ।
यस्तै १६ देखि २३ महिनासम्मका ५ हजार ६ सय ८४ बालबालिकाले पनि सबै आवश्यक खोप प्राप्त गरेका छन् । यस समूहमा भक्तपुर नगरपालिकाका ४ सय ८९, मध्यपुर थिमीका २ हजार ८ सय ३६, सूर्यविनायकका १ हजार ३ सय ८९ र चाँगुनारायणका ९ सय ७० जना बालबालिका रहेका छन् ।
प्रमुख खड्काले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था, स्थानीय तह तथा समुदायको सक्रिय सहकार्यका कारण जिल्लाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने सुनिश्चित गरिने बताउनुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई नयाँ जिम्मेवारीको सुरुआत भएको बताउँदै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तारमार्फत यसको दिगोपना कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य मन्त्री थापाले सम्मान गर्नुभएको थियो ।